धनगढी : नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ। मध्यपहाडी यात्रा अभियानअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेका शिर्षस्थ नेता अहिले संकल्प यात्रामा छन्।
बैतडीको झुलाघाटबाट सुरु भएको अभियानमा सुदूरपश्चिम घर भएका असन्तुष्ट नेता डा. भीम रावल भने सहभागी भएनन्। पार्टीको राष्ट्रिय अभियानमा आफूलाई औपचारिक निम्ता नगरिएको भन्दै उनी यात्रामा सहभागी छैनन्।
तर, एमालेको मध्यपहाडी यात्रा अभियानअन्तर्गत अछाममा तीनवटा सभा गरेर अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशतर्फ लागेपछि रावल गृहजिल्ला पुगेका छन्।
आफ्नै गृहजिल्लामा पार्टीको सभा हुँदासमेत आफूलाई बाइपास गरिएको भन्दै पूर्वउपाध्यक्ष रावल असन्तुष्ट छन्।
ओली कर्णाली तरेर दैलेख पुगेलगत्तै आइतबार रावल गृहजिल्ला अछाम जान धनगढी पुगेका थिए। मंगलबार उनी अछाम पुगेका छन्।
आज अछाम पुगेको बताउँदै रावलले केही दिन गृहजिल्लामै बस्ने महेन्द्रनगर पोष्टलाई जानकारी दिए। उनले कार्यकर्ता भेटघाट लगाएत आफ्नो व्यक्तिगत कामका लागि अछाम आएको बताएका छन्।