काठमाडौँ– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता हुँदैछ । यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिनको समय दिएको हो ।
आज र भोलि स्थानीय तहमा दल र स्वतन्त्रबाट उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।
मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।