काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो बनाएका प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठलाई सम्मान गरिएको छ ।
त्यसैगरी सगरमाथामा नेपालकोराष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई पनि सम्मान गरिएको छ ।
नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा उनीहरुलाई सम्मान गरिएको प्रहरी मुख्यालयले जनाएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मानगरिएको हो । भिडियो निर्माणमा नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यो नै ऐतिहासिक उपलब्धी भएको बताइएको छ ।
प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । यसैगरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराएका थिए ।