काठमाडौं : फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतलाई पक्राउ गरेको छ।
नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।
झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन्। भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको हो।
एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ।
सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।