धनगढी : रुपेश विष्ट नेपाल पुलिस क्लबको महिला टोलीका प्रमुख प्रशिक्षक हुन । अहिले उनकै प्रशिक्षणमा नेपाल पुलिस क्लबले नेपालको घरेलु मैदानमा हुने धेरैजसो खेलमा आफ्नो पक्कड जमाउँदै उपाधि रक्षा गर्ने गरेको छ।
अन्य टोलीले समेत पुलिस लाई आफ्नो प्रमुख दाबेदारको रूपमा लिन थालेका छन् ।
केही वर्ष अघि सम्म नयाँ खेलाडी नहुँदा उपाधि जित्न सकस भइरहेको बेला रुपेशले अहिले दिन प्रतिदिन सफलता हात पार्दै गइरहेका छन् ।
टोलीमा भएका सिनियर खेलाडीहरू खेलबाट बिदा लिने अवस्था र नयाँ खेलाडी उत्पादन गरी टोली लाई अगाडि बढाउनु पर्ने जिम्मेवारी प्रशिक्षक बिस्टको काँधमा थियो,र त्यो जिम्मेवारी पूरा गर्न उनलाई समय लाग्यो ।
तर असम्भव भएन त्यसैको परिणाम हो अहिले उनको टोलीले बारम्बार घरेलु मैदानमा सफलता प्राप्त गरिरहेको छ।
को हुन् रुपेश ?
काठमाडौँ भक्तपुर निवासी रुपेश विष्ट २०६० सालमा भलिबल खेलाडीको रूपमा नेपाल पुलिस क्लबको टोलीमा प्रवेश गरेका थिए ।
उनले २०६० देखि २०६४ सम्म पुलिस क्लबमा ओपन स्पाइकर र सेटरको भूमिकामा थुप्रै खेलहरू खेले र उनी टोलीमा प्रवेश गरेकै वर्ष २०६० सालमा उनको टोलीले धनगढीमा सम्पन्न राष्ट्रिय पुलिस भलिबल प्रतियोगितामा प्रथम भयो। यो उनको लागी खेलाडीको रूपमा ठुलो उपलब्धि थियो ।
२०६० सालमा पुलिस क्लबमा खेलाडीको रूपमा प्रवेश गरेका विष्ट ४ वर्ष सम्म भलिबल खेलेपछि खेलाडीको जीवन बाट बिट मार्दै सहायक प्रशिक्षकको रूपमा पुलिस क्लबमा आफ्नो प्रशिक्षणको यात्रा लाई अगाडि बढाए ।
उनी सहायक प्रशिक्षक हुँदा पुलिसको टोलीमा प्रमुख प्रशिक्षक कपिल किशोर श्रेष्ठ थिए । उनीसँग सँग चार वर्ष काम गरेपछि फेरि प्रमुख प्रशिक्षक वरिष्ठ भलिबल प्रशिक्षक सुरेश कुमार रिमाल भए ।
उनीसँग पनि चार वर्ष सहायक प्रशिक्षककै रूपमा विष्टले काम गरे । उनीहरू दुवै जना बाट राम्रो साथ सहयोग पाएको र धेरै कुरा सिक्न पाएको बिस्टको भनाइ छ ।