धनगढी : इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ ।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रदान गर्ने भनि घोषणा गरेको रकम मंगलबार हस्तान्तरण गरेको हो ।
कैलालीको टिकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई सहयोग वापतको चेक हस्तान्तरण गरेका हुन् ।
७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो ।
उनीहरु मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको अवस्था भने अज्ञात रहेको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको बताए ।