महेन्द्रनगर : मानव बेचबिखन तथा ओसार पसारका बिरुद्धमा काम गर्दै आएको एक संस्थालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गर्न निर्देशन गरेको छ ।
कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेर महिला तथा बालबालिकाको हकहित एवं मानव बेचबिखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आएको थ्री एन्जल नेपाल नामक संस्थालाई मापदण्ड अनुसार नरहेको भन्दै जिल्ला पशासन कार्यालय कञ्चनपुरले तत्काल बन्द गर्न निर्देशन गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा एसपी कमल थापा सहितको टोलीले अनुगमन गर्दा थ्री एन्जल नेपाल, गड्डाचौकीको आश्रयस्थल मापदण्ड अनुरुप नरहेको हुँदा प्रशासनले तत्काल बन्द गर्न निर्देशन गरेको हो । मापदण्ड पुर्याएर अर्को आश्रयस्थल बनाएमा पुनः एक पटक सम्बन्धित सरकारीनिकायबाट अनुगमन गराएपछि मात्रै सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।