काठमाडौं–बैतडीको सुर्नया गाउँपालिका–३ बस्दै आएका तेजबहादुर चन्द एसएसलीसम्म पढे । पढाईको बीचैमा मानसिक सन्तुलन खलबलिएपछि उनको उपचार गरिएको थियो । निको भएपछि उनी भारतमा रोजगारीको लागि गएका थिए । त्यहाँबाट फर्किएका उनले विवाह समेत गरेका थिए ।
तर अस्ति(सोमबार) उनले पुनः पहिलेको जस्तै(मानसिक सन्तुलन गुमाएको) व्यवहार देखाउन थालेका थिए । त्यो व्यवहारले परिवार सर्तक थियो । किनभने तेजबहादुर त्यस्तो हुँदा आक्रामक हुने गरेका थिए । विगतमा उनले त्यस्तै बेला गाउँका पशुचौपायालाई आक्रमण गरेर मारेका थिए ।
धेरैपछि उनीमा पहिलेको जस्तै व्यवहार आएपछि परिवारले गाउँमा पनि खबर गरेका थिए । परिवारले उनलाई घरमै थुनेर राखेका थिए । तर, मंगलबार दिउँसो उनी घरबाट बाहिर निस्के । उनीको हालत पहिलेको जस्तै भएको बारे उनकी छिमेकी हरिना बिष्टलाई भने अज्ञात थिइन् ।
सोही कारण ५६ वर्षीया हरिना बेफिक्री भएर घरायसी काम गर्दै थिइन् । उनका श्रीमान् गोठाला गएका थिए भने बुहारी मेलापात गएकी थिइन् । जेठी नातनी शुशिला विद्यालयबाट घर फर्किएकी थिइन् । उनीसँगै २ वर्षीय भाई थिए ।
अचानक तेजबहादुर आक्रमक व्यवहार देखाएर आफूतिर आएको चाल पाएपछि हरिना दगुर्दै घरभित्र पसिन् । उनले नातीनातीनीलाई लुक्न भन्दै आफूले घरभित्रबाट चुकुल लगाएकी थिइन् । तर, एकदमै आक्रमक बनेका तेजबहादुरले घरमा पुगेर बाख्राका दुई पाठालाई निमोठेर मारे ।
उनी त्यतिमै रोकिएनन् । हरिना लुकेको कोठाबाहिर गएर साबेलले ढोका फुटाए । ढोका फुटेपछि उनले त्यहि साबेल भित्र रहेकी हरिनाको टाउको हिर्काए । उनले हँसिया समेत प्रयोग गरेर हरिनाको विभत्स हत्या गरे । त्यसपछि उनले हरिनाको शव ढोकामा लतार्दै ल्याएर राखे ।
त्यसपछि उनले छिमेकी पदम बिष्टलाई समेत आक्रमण गर्न खाेजेको स्थानीयले बताएका छन् । उनले हत्या गरेकै साबेलले विष्टका गोरु र भैँसीलाई समेत हानेका थिए । आक्रमणपछि डराएका गोरु र भैँसी भागेका थिए । ती भागेका भैँसी र गोरु आज(बुधबार) घर फर्किएका छन् ।
हत्यापछि घरमै गएर बसेका चन्दलाई इलाका प्रहरी कार्यालय पाटनबाट बन्दुक ल्याएर आएका प्रहरीले समातेका थिए । उनलाई पक्रन जाँदा पनि ‘आउ सिंगल सिंगल लड्न’ भनेर भन्न थालेपछि प्रहरीले बन्दुकनै तेर्साएर स्थानीयको सहयोगमा तेजबहादुरलाई पक्राउ गरेको थियो ।
हरिनाको विभत्स हत्यापछि अहिले गाउँ त्रासमा छ । उनको उपचार राम्रोसँग नभएकै कारण उक्त घटना हुन पुगेका स्थानीय पदम विष्ट बताउँछन् । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक खेम विक्रम केसीका अनुसार चन्दमाथि सोधपुछ भइरहेको छ । घटनाको अनुसन्धान भएपछि थप कुरा खुल्ने उनले बताए ।