धनगढी: कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्का माफियाकै कब्जामा परेको पाइएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको पाइएको हो।
झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभी हात पारेको हो।
निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो। सो कम्पनीका तर्फबाट ठेकाको सम्झौताको अख्तियारी भने रमेश बोहराले लिएको बताइन्छ।
यस्तै यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप समेत लागेको छ। किनकी यस कम्पनीका हर्ताकर्ता रहेका तेजबहादुर उनै मान्छे हुन्, जसको विगतका वर्षमा महाकालीको रोयल्टीको ठेक्कामा भएको भ्रष्टाचारमा सहभागिता थियो।
तर, उनी बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे आफन्तसमेत भएकाले मुद्दा लाग्नबाट भने उम्किएका थिए।
यसबारे महेन्द्रनगरपोष्टले केही महिना अगाडि विस्तृत समाचार सम्प्रेषण गरेको थियो। अहिले पनि महेन्द्रनगरमा आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको स्रोतको दाबी छ।
यस्तै हालको ठेक्का हात पार्ने कम्पनीमा अख्तियारको मुद्दा लागेर अहिले पनि झेलिरहेका दिवाकर भट्ट पनि सहभागी छन्। उनको पनि विगतको रोयल्टी ठेक्कामा भ्रष्टाचार गर्न भूमिका रहेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दा अझै किनारा लागिसकेको छैन।
उनीहरु मात्र होइन, विगतका दुई आर्थिक वर्षमा महाकाली नदी रोयल्टी संकलन कार्यमा अनियमितता भएको भन्दै पूर्वजनप्रतिनिधि (तत्कालीन जनप्रतिनिधि), कर्मचारी र कम्पनीका मान्छेहरु समेत अख्तियारको मुद्दा खेपिरहेका छन्।
अहिले पनि सो भ्रष्टाचारी ग्रुपकै मान्छेहरु समेत सहभागी रहेको कम्पनीले ठेक्का पाउदा अनियमितता र सेटिङको गन्ध देखिएको छ। यसअघि गत आर्थिक वर्ष ०७८/७९मा भीमदत्त नगरपालिकाले अमादी र दोधाराचाँदनी नगरपालिकाले ठेक्का लगाएको थियो।
अहिलेको चालू आर्थिक वर्षमा भने दुवै नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको हो। सो ठेक्का टाइगर सगरमाथा जेभी काठमाडौंले भ्याटसहित ७ करोड ७७ लाखमा पाएको हो।
पहिलो दिनमै विवाद
टाइगर सगरमाथा जेभीले ठेक्का पाएर काम थालेको पहिलो दिनमै महाकालीमा भने विवाद सुरु भएको छ।
महाकाली नदीको रोयल्टी संकलन कार्यमा पहिलो दिनमै लफडा भएको हो।
नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर भीमदत्त नगरपालिकाकै जनप्रतिनिधिबीच एकआपसमा किचलो सुरु भएको बताइएको छ। किचलोका कारण भुजेलाघाटबाट ठूला सवारीसाधनबाट नभई ट्याक्टरमा मात्रै नदीमा हाल्न दिइएको छ।
१ असोजमा खुल्नुपर्ने महाकालीको २७ मंसिरमा आएर खुलेको हो। ढिलो गरी खुलेको महाकाली पहिलो दिन अवलोकनका लागि बिहान भुजेलाघाट पुगेका भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र भीनपा-११ का वडाध्यक्ष प्रकाश थापाबीच विवाद उत्पन्न भएको बुझिएको छ। उनीहरुबीच उत्खनन क्षेत्रको विषयलाई लिएर लफडा भएको हो।
स्रोतका अनुसार वडाध्यक्ष थापाले नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने स्थानको सीमाङकन हुनुपर्ने, जिल्ला समन्वय समितिबाट अनुमति ल्याउनुपर्ने, ठूला सवारीसाधन नदीमा हाल्न नपाइने भनेपछि मेयर बोगटीशीत चर्काचर्की भएको थियो।
उता मेयर बोगटीले भने ढिलो गरी महाकाली नदी ठेक्का लागेकाले पालिकाको कामकाज अघि बढेकाले विवाद नगर्न वडाध्यक्ष थापासँग अनुरोध गरेका थिए।