काठमाडौं – स्थानीय तहको चुनाबका लागि प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने प्राबधान विपरीत उम्मेदवार छान्ने सत्ता गठबन्धनको तयारीप्रति नेपाल महिला संघले नेपाली कांग्रेस जिल्ला कार्य समिति, धादिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महिलाको संबैधानिक हकमा असर नपार्न आग्रह गर्दै संघले शनिबार सो ध्यानाकर्षण पत्र बुझाएको हो ।
“नेपालको प्रचलित संविधान तथा कानुन बमोजिम स्थानीयको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने प्रावधानविपरीत हुने गरि हाल सत्ता गठबन्धनमा रहेका दलहरुद्वारा साझा उम्मेदवार तयार गर्दा संविधान र प्रचलित निर्वाचनको कानुनले अनिवार्य गरेको समावेशिताको भावना विपरित प्रमुख/उपप्रमुख , अध्यक्ष/उपाध्यक्ष पदमा पुरुषको प्रतिनिधित्व हुने गरि उम्मेदवार मनोनयन गर्ने तयारी भइरहेकोले यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ , ध्यानाकर्षण पत्रमा लेखिएको छ ।”
महिला संघकी अध्यक्ष अम्बिका अधिकारीको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्रमा एक पदमा महिला उम्मेदवार सुरक्षित गरिदिन अनुरोध समेत गरिएको छ । “संविधान र प्रचलिक कानुनको मूल मर्मविपरित भएको निर्णय गठबन्धनले गर्दा महिलाहरुको हकमा असर नपर्ने गरी दुवै पदमध्ये एक पदमामा अनिवार्य महिला उम्मेदवार सुरक्षित हुने गरीदिन अनुरोध गरेका छौँ”, अधिकारीले भनिन् ।
यस्तै, संघले महिलाहरुको अनुरोधलाई लागू नगरे कडा चेतावनी समेत दिएका छन् । क्षमता र योग्यता पुगेका महिलाहरुलाई प्रमुख पदमा प्रथामिकता दिई कम्तिमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमध्ये एक जना महिलाको उम्मेदवारी सुनिश्चित हुने गरी उम्मेदवार सिफारिस गर्न सो ध्यानाकर्षण पत्र पेस गरेको बताइएको छ ।