धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका सशस्त्रका प्रहरी धरौटीमा छुटेका छन्।
चोरीको आरोपमा पक्राउ परेका रमेश भण्डारी धरौटीमा छुटेका हुन्। सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) समेत रहेका उनको घर धनगढी-३ घरमा पर्छ। उनी ५० हजार धरौटीमा केही दिन अगाडिमात्रै छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सकाएर अदालत बुझाएकोमा अदालतले धरौटीमा छोडेको हो।
दार्चुला कार्यरत रहेका उनलाई चोरीको बेला पोखरा ट्रेनिङको लागि भनेर सशस्त्रले पठाएको थियो। तर ट्रेनिङमा रहेका भनेका उनले धनगढीमा चोरी गरेका थिए।
चोरीको उजुरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर कैलाली प्रहरीलाई बुझाएको थियो।
पहाड घर डडेल्धुरा रहेका उनी पक्राउ परेलगत्तै सशस्त्रबाट निलम्बित भएका थिए। अब अदालतको फैसला नआउदासम्म उनको निलम्बन कायमै रहने र फैसलापछि थप कारबाही हुने बताइएको छ। अदालतले दोषी ठहर गरे उनको जागिर पनि जाने छ।
र, यो पनि: सशस्त्रका असई नै चोर, धनगढीमा ल्यापटप झ्याप हानेपछि समातिए