धनगढी : पशु कल्याणको अवस्था सुधारका लागी सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गाई भैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । गाई भैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न र व्यावसायिक गाई भैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न मापदण्ड जारी गरिएको हो ।
मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रा.लि. को संयुक्त प्रयासमा सरोकारवालाहरूबिच समग्र पशु कल्याण र विशेष गरी गाईभैंसी कल्याणका विषयहरूमा विस्तृत छलफल पछि मापदण्ड जारी गरिएको हो ।
मन्त्रालयले जारी गरेको व्यावसायिक फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड, ले पशु कल्याणका क्षेत्रमा भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने, पिडा, चोटपटक र रोगब्याधीबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रता लगायतका क्षेत्रलाई सम्बोधन गरेको छ।
मापदण्डमा दूध उत्पादनका लागि पालिएका पशु बाहेक भार वहन प्रयोजनका लागि प्रयोग गरिने बहर, गोरु, राँगा, भार तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यवहार एवं अपनाइने विधिबारे उल्लेख गरिएको छ। छाडा तथा निवृत्त पशुको व्यवस्थापन सम्बन्धमा पनि मापदण्डमा व्यवस्था गरिएको मन्त्रालयका सचिव मदन सिंह धामीले बताए ।
उनका अनुसार मापदण्डले गाई भैँसीप्रति निर्दयी व्यवहार गर्न नहुने र गाई भैँसी प्रतिको जिम्मेवारी र उत्तरदायित्वका सम्बन्धमा समेत व्यवस्था गरेको छ। मापदण्डमा तोकिएको ढाँचामा तयार गरिएको पशु कल्याण मापन सूचक अनुसार पशु कल्याण अवस्थाको मापन गर्ने र सो को अनुगमन मन्त्रालयबाट हुने, व्यवसाय विकास र सो को कार्यान्वयनको पक्ष समेत उल्लेख भएका छन्। त्यस्तै गाई भैँसीको ढुवानीमा सुधार ल्याउन वैज्ञानिक विधिहरूको अवलम्बन गर्ने भनिएको छ।
नेपालको सङ्घीय सरकारले पशु कल्याण विधेयक तयार गरी संसदमा पेस गर्ने तयार गरिरहेको अवस्थामा सो ऐन स्वीकृत र कार्यान्वयनको वातावरण तयार गर्न सबै कृषकहरू एवम् यस पेसामा संलग्न सङ्घ÷संस्थाहरूले पशु कल्याणको व्यवस्थापनमा स्वतःस्फूर्त सुधार गरुन् भन्ने मापदण्डको उद्देश्य रहेको स्नेहाज केयरकी निर्देशक स्नेहा श्रेष्ठ बताइन् ।
मापदण्डहरू कार्यान्वयन गर्न सके पशु कल्याण सहितको स्वास्थ्यकर पशुपक्षीजन्य उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकार समेत सुनिश्चित हुने सँगै पशु कल्याणप्रति प्रतिबद्ध समुन्नत समाज निर्माणमा टेवा पुग्ने श्रेष्ठको भनाइ छ ।
पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यले २०७२ सालमा ललितपुर महानगरपालिका–२१ मा स्थापित स्नेहाज केयरले विगत नौ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ।
मन्त्रालयले जारी गरेको मापदण्डले घाँसपातबाहेक गाई भैँसीलाई दिनुपर्ने सन्तुलित दानाको परिमाण पनि तोकेको छ । कोरली र थोरेलाई दैनिक साढे एक किलो, थारो भैँसीलाई तीन किलो, ब्याउने माग गाई भैँसीलाई तीन किलो, दुहुनो माउलाई दैनिक १० लिटरसम्म दूध दिनेलाई तीन किलो र त्योभन्दा बढी दूध दिनेलाई साढे दुई लिटर दूध बराबर थप एक किलो दाना उपलब्ध गराउनुपर्ने उल्लेख छ । निवृत्त पुशलाई भने दैनिक एक किलो मात्रा सन्तुलित दाना दिनुपर्ने जनाइएको छ ।
मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायतका विषय उल्लेख छन् । नवजात पाडा पाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक पानसिंह ठगुन्नाले बताए । उनका अनुसार गाई भैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न पाइँदैन ।
गाई भैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मी याममा पङ्खा या फोगर र जाडो याममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने जनाइएको छ । पशुलाई उठ्न, बस्न र घुम्न पुग्ने गरी गोठको व्यवस्था गर्नुपर्ने, खसी नपारेको भाले पशु र पोथी पशुलाई छुट्टै राख्नुपर्ने, गोठसम्म परेको, सफा, सुख्खा र प्रकाश छिर्ने गरी बनाउनुपर्ने मापदण्डमा उल्लेख छ ।
यस्तै गाई भैँसी तर्सने गरी गोठ र वरपर कुनै गतिविधि गर्न नहुने, दूध नदिएको वा लुकाएको बहानामा पशुलाई पिट्न वा तर्साउन नपाइने, आवश्यकताअनुसार चरन र घाँस परालका अतिरिक्त पर्याप्त मात्रामा सन्तुलित आहार उपलब्ध गराउनुपर्ने जनाइएको छ । पशुलाई सङ्क्रामक रोग विरुद्ध खोप र नियमित रूपमा थुनेलो परीक्षण गराउनुपर्ने, पशुको गोठ र वरपर तिखो तथा धारिलो औजार राख्न नहुने मापदण्डमा उल्लेख छ ।
उत्पादनशील जीवन पार गरेका, थुनेलोका कारण चारवटै थुन दूध नदिने भएका, प्रजनन सम्बन्धी रोगका कारण थलिएका गाई भैँसीलाई कालगतिले नमरेसम्म स्याहार गर्नु पशुधनीको दायित्व र कर्तव्य हुनेछ भनिएको छ । गाईबस्तुको ढुवानी गर्दा घाउचोट लाग्नबाट जोगाउनुपर्ने,प्रचण्ड गर्मी, वर्षा, आँधीबेहरी, असिना, हिमपात जस्तो प्रतिकुल मौसममा ढुवानी गर्न नहुने मापदण्डमा उल्लेख छ ।