कञ्चनपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महेन्द्रनगर नगर विकास समितिका तत्कालिन अध्यक्ष र मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । नगर विकासका तत्कालिन अध्यक्ष गोपाल रसाइली, पल्टु राना र कान्तुराम पनेरु र मालपोत कार्यालय कन्चनपुरका तत्कालिन प्रमुख विशनसिंह थापासहित ६४ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप–पत्र दायर गरेको हो ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि र प्रकृया विपरीत अध्यक्षको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी हक हस्तान्तरण गरेको देखिएको अख्तियारको दाबी छ।
सो कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष, समितिमा कार्यरत कर्मचारीहरु र सो जग्गा दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न मालपोत कार्यालयका कर्मचारीहरु, कित्ताकाट प्रकृयामा संलग्न नापी कार्यालयका कर्मचारीहरु तथा जग्गा प्रथम तहमा प्राप्त गर्ने व्यक्तिहरुको हकमा सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । हाल कायम हुन आएका जग्गा धनीबाट जग्गा जफत गरि नगर विकासको नाममा कायम गराउन माग गरिएको छ ।