काठमाडौं : सशस्त्र प्रहरी हवल्दार भएर आफूलाई पत्रकार भन्दै हिँड्ने एक जनाको जागिर चैट भएको छ।
रौतहटका सशस्त्र प्रहरी हवल्दार गगनदेव साहविरुद्ध ठोस प्रमाण जुटेपछि अघिल्लो हप्ता उनको जागिर चैट भएको हो।
साह आफूलाई पत्रकार भन्दै लेख्ने–लेखाउने गर्दै आएका थिए। उनीविरुद्धयसअघि मौखिक उजुरी परे पनि ठोस प्रमाण अभावमा कुनै कारबाही भएको थिएन्।
तर, पछिल्लो समय नव जनप्रहार साप्ताहिकका सम्पादक विष्णु घिमिरेले साहलाई सम्वाददाता बनाई पत्रकारिता गर्न अख्तियारी दिएको पाइएपछि अभियोग सिद्ध भएको बुझिएको छ।
सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिनको क्रममा सो प्रमाण जुटाएको थियो।नक्कली पत्रकार साहले सीमावर्ती क्षेत्रमा गएर तस्करसँग पत्रकार बनी थर्काउने, धम्क्याउने, पैसा कुम्ल्याउने गरेका थिए।
विभागभित्रै मेरो पक्षमा आउने कि अरुको पक्षमा जाने भन्दै ग्रुप खडा गर्ने काममा पनि सक्रिय थिए, उनी।
कानुन महाशाखाको सिफारिसमा आइजिपी राजु अर्यालले उनको जागिर चैट गरिदिएका हुन्। उनी करिब १६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएको बताइन्छ।