डडेल्धुरा– काँग्रेस सभापति देउवाको जिल्लामा काँग्रेसमै विवाद देखिएका बेला नेकपा एमालेमा पनि विवाद सृजना भएको छ । स्थानीय तह निर्वाचन नजिकिएका बेला नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढ्न थालेको हो। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो ।
नेकपा एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन)ले आइतबार साँझ पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही बेरमै पत्रकार सम्मेलन गरी मेयर ओझाले असन्तुष्टि पोखेका हुन् । उनीसहित अन्य केही नेताहरू सहमतिको विरुद्धमा उभिएका छन् ।
एमालेका प्रदेश कमिटी सदस्यसमेत रको ओझाले एमालले कांग्रेस बिपीलाई अमरगढी नगरपालिकाको मेयर पद बिक्री गरेको आरोप लगाएका छन् ।
उनले कुनै पनि छलफल र परामर्शबिना नै गरेको यो सहमति मान्य नहुने बताए । उनले अमरगढीमा प्रमुख छाड्न नसकिनेसमेत दाबी गरेका छन् । उनले अमरगढीको नगरप्रमुख पद मल्ल समूहलाई दिने सहमतिप्रति कडा र शसक्त ढंगले लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
आइतबार दिउँसो एमालेले नेपाली कांग्रस (बिपी)सँग जिल्लाका सातै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । कांग्रस (बिपी)मा नेपाली कांग्रस पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले मिलेको छ । कांग्रेस बिपीमा प्रवेश गरेको मल्ल समूहसँग एमाले गठबन्धन हो ।
जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगर प्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने सहमति छ ।
परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख बिपी कांग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको छ।
भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष बिपी कांग्रेसलाई दिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बिपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बिपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेबाट लड्ने सहमति भएको छ।
उता गन्यापधुरामा बिपी कांग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमतिमा उल्लेख छ। निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस बिपीका जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका थिए ।