धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश लोक सेवा आयोगले सोमबार प्रदेश निजामति सेवा एघारौं तहका प्राविधिक पदहरुको ज्येष्ठता र कार्य सम्पादन मूल्याङकनद्धारा गरिने बढुवाको लागि सूचना प्रकाशित गरेको छ।
उक्त सूचनामा हेल्थ एजुकेशन समुहको ११औं तहको लागि १, पब्लिक हेल्थ एडमिनिस्ट्रेशनको १ , प्याथोलोजि तथा जनरल प्याथोलोजि समुहको १ र हेल्थ इन्सपेक्सन समूहको १ जनाको आन्तरीक बढुवाको लागि सूचना प्रकाशित गरेको छ।
त्यसैगरी, प्रमुख मेडीकल कन्सल्टेन्ट स्वास्थ्य जनरल हेल्थ सर्भिसेजमा ३, प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन स्वास्थ्य मेडीसिन जनरल मेडीसिनमा २, प्रमुख कन्सल्टेन्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट स्वास्थ्य अब्सट्रेटिसियन गाइनोकोलोजिमा २, प्रमुख कन्सल्टेन्ट सर्जन स्वास्थ्य सर्जरी जनरल सर्जरी मा १ र प्रमुख कन्सल्टेन्ट पेडीयाट्रीसियन स्वास्थ्य पेडीयाट्रिक्स पेडीयाट्रीक्स मेडीसिनमा १ जनाको बढुवाको लागि सूचना प्रकाशित गरेको छ।
उक्त सूचना अनुसार बढुवामा दाबी गर्ने पब्लिक हेल्थ एडमिनिस्ट्रेशन, प्याथोलोजि तथा जनरल प्याथोलोजि र हेल्थ ईन्सपेक्सन समूहको ११ तहको बढुवाको लागि दाबि गर्ने कर्मचारी नै छैनन्। हेल्थ एजुकेशन समुहको ११ तहको बढुवाको लागि १ जना मात्रै दाबेदार छन्।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा प्रमुख मेडीकल कन्सल्टेन्ट स्वास्थ्य जनरल हेल्थ सर्भिसेज, प्रमुख कन्सल्टेन्ट सर्जन स्वास्थ्य सर्जरी जनरल सर्जरी र प्रमुख कन्सल्टेन्ट पेडीयाट्रीसियन स्वास्थ्य पेडीयाट्रिक्स पेडीयाट्रीक्स मेडीसिन मा बढुवा दाबि गर्ने चिकित्सक नै छैनन्।
त्यस्तै, प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन स्वास्थ्य मेडीसिन जनरल मेडीसिन र प्रमुख कन्सल्टेन्ट अब्सट्रेटिसियन एण्ड गाईनोकोलोजिष्ट स्वास्थ्य अब्सट्रेटिसियन गाईनोकोलोजिमा २/२ जना बढुवाको लागि सूचना प्रकाशित गरेपनि दाबी गर्ने १/१ मात्रै चिकित्सक छन्।
कर्मचारी समायोजनको समयमा सुदूरपश्चिम प्रदेश ६ जना चिकित्सकले मात्रै रोजेका थिए। प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पताल तथा जिल्ला अस्पताल करार तथा काम काजका चिकित्सक मात्रै कार्यरत छन्।