डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाका एक विद्यालयका प्रधानाध्यापकले वन अतिक्रमण गरि बनाएको अवैध टहरा सामुदायिक वनले हटाएको छ।
जिल्लाको अमरगढी नगरपालिका-२ माैरडास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीले अमरगढी नगरपालिका-६ स्थित कालापत्थर सामुदायिक वनमा बनाएको टहरा हटाइएको हो।
धामीले कालापत्थर सामुदायिक वनमा अनुमति बिना टहरा बनाएका थिए। उनले आफ्ना सहोदर भाइसँग मिलेर मदिराको व्यापार पनि गर्ने गरेका थिए।
टहरा हटाउन पटक-पटक धामीलाई आग्रह गरेको भएपनि उनले अटेरी गर्दै आएका थिए। स्थानीय जीतराज भट्टले टहरा हटाउनुको सट्टा धामीले अटेरी गरि मदिरा लाइसेन्स लिएर मदिरा बिक्री गर्न सुरु गरेका थिए।
यसअघि पनि सामुदायिक वनको बैठक बसेर टहरा हटाउने निर्णय गरिएको र धामीलाई सातबदिने अल्टिमेटम समेत दिइएको सामुदायिक वनका अध्यक्ष सुरेश ताम्राकारले जानकारी दिए।
ताम्राकारका अनुसार त्यसपछि पनि धामीले अटेरी गरेका थिए। ‘फेरि एक महिनाको समय दिएका थियौँ। उहाँले म आफै भत्काउँछु भन्नुभएको थियो। नभत्काएको खण्डमा लागेको खर्च समेत व्यहोर्नु कुरा गर्नुभएको थियो,’ उनले भने, ‘तर, एक महिनाभन्दा बढी भइसक्दा समेत अटेरी गरेपछि हामीले भत्काएका हाैं।’
यस विषयमा बुझ्न प्रधानाध्यापक धामीलाई फोन गर्दा उनले फोन काटे।