काठमाडौं – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।
Author: Saru Shrestha
काठमाडौं – काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहेने बताएका छन् । सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्–मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु…
काठमाडौं – प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ ।
लमजुङ – लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् । हालसम्म दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकाको ४ हजार ८ सय ९८ मतगणना गर्दा एमालेका पृथ्वीसुब्बा गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पृथ्वीसुब्बा गुरुङले ४ सय २१ मतले अग्रता कायम गरेका छन् ।
काठमाडौ – कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् । उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।
सुर्खेत – हिमाली जिल्ला डोल्पाका ६८ मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै सदरमुकाम ल्याइएको छैन । अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ । उपल्लो डोल्पामा पर्ने २२ मध्ये १९ वटा मतदान केन्द्रका मतपेटिका अझै उठ्न नसकेको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर ढिला गरिमात्र आएकाले पनि आज डोल्पाबुद्ध गाउँपालिकाका तीनवटा मतदान केन्द्रको मतपेटिकामात्र सदरमुकाम दुनै झारिएको उनले बताए । मंगलबारमात्रै बाँकी १९ वटा मतदान केन्द्रका मतपेटिका लिन सेनाको हेलिकप्टर उपल्लो डोल्पा जाने उनको भनाइ छ । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाका नौ वटै मतदान…
भक्तपुर – भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।
धनगढी – प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् । हालसम्म गनेको एक हजार मत मध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मतसहति अग्रता कायम गरिरहेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । एक हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।
झापा – झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।
धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता लिएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा एक सय मत गणना गर्दा तामाङले ६७ मत पाएका हुन्। गठबन्धनका साझा उम्मेदवार वीना मगरले २९ मत पाएकी छिन्। तामाङ सुदूरपश्चिमका पूर्व मन्त्री हुन् भने मगर संघीय पूर्व मन्त्री हुन्।