कैलाली : गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो। प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए। विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको उनले बताए।
साथीसँगै साँझम गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। तर, उनी भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए।
उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।
सोही आधारमा उनीसँगै दोहोरी साँझ गएका कृष्णपुरकै टेकबहादुर नायकनायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले पक्राउ गरेको थियो ।