धनगढी : यहीँ पुस २५ गते बुधवार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवा र उनका साथी टेकबहादुर नायक अत्तरियाको सत्कार दोहरी साँझमा खानपिन गर्न बस्छन्।
उनीहरुले मदिरा सेवन गरेपछि मात्तिएकाको समयमा त्यहाँ रहेका अन्य व्यक्तिहरुसँग सामान्य झगडा हुन्छ र उनीहरु खानपिन सकेर बाहिर निस्कन्छन्। सबै जनासँगै बाहिर निस्किएपछि टेकबहादुरको मोबाइल भित्रै छुट्छ । उनी मोबाइल लिन भित्र जान्छन्।
त्यो समयमा श्याम देउवा गेटमा उभिरहेका हुन्छन्। जब टेकबहादुर मोबाइल ल्याएर बाहिर आउँछन्, त्यतिबेलासम्म देउवा त्यहाँबाट एका/एक गायब भइसकेका हुन्छन्। देउवालाई नदेखेपछि टेकबहादुर देउवाको बाइक लगेर अत्तरियाकै अर्को होटलमा गएर सुत्छन्।
मध्यराति हराएका देउवा एकाएक बिहान चौकीडाँडाको रोडको किनारमा भेटिन्छन्। अचेत अवस्थामा रहेका देउवाको बिहान होस खुल्छ। आफू यो ठाउँमा कसरी पुगेको भनेर भनेर उनी अच्चममा पर्छन्। अर्धचेत अवस्थामा रहेका देउवा नजिकै घरमा गएर आफन्तलाई फोन लगाइदिन आग्रह गर्छन्।
आफन्तलाई फोन गरिसकेपछि उनलाई कसैले उनलाई लिएर गुलरियास्थित घरमा पुर्यादिन्छन्। घरमा आफन्तले उनको शरिरमा चोटपटक देख्छन् र उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल लगिन्छ।
गम्भीर चोट लागेका उनको उपचारकै क्रममा आज अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनले देउवाको मृत्यु भएपछि मात्रै प्रहरीमा उजुरी परेको भन्दै अहिले ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १ का २७ वर्षीय विनोद शाह, गोदावरी ६ का प्रकाश ओली, उमेश बडैला, गोदावरी नगरपालिका १ का २८ वर्षीय यज्ञ विक, कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का टेकबहादुर नायक र रामबहादुर ऐर रहेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।