बेदकोट (कञ्चनपुर) : महाकाली करिडोरअन्तर्गत कञ्चनपुर-डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो ।
ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए ।
‘जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ,’ उनले भने, ‘दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ ।’
उनका अनुसार हाल पाँच मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्याइनेछ । ट्र्याक खोल्ने क्रममा कटान गरिएका रुख सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए । विसं २०७८ मा दिवा सनिदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो ।
कटान आदेश नआउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । विसं २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणको कामले गति लिएको थियो । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा एक हजार पाँच सय ३२ रुख र चार सय १९ पोल साइजका साना रुख पर्छन् । तीमध्ये रुख र पोल साइजका गरी एक हजार नौ सय ५१ रुख कटानको आदेश आएको एक वर्षको अवधिमा ट्र्याक खोलिएको हो ।
कञ्चनपुर-डडेल्धुरा सडक खण्डको १५ किलोमिटर ट्र्याक खुलेसँगै डडेल्धुराको जोगबुढासम्म सवारी साधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् । ‘बाटो नहुँदा जोगबुढा तथा महेन्द्रनगरतर्फ आउजाउ गर्न समस्या थियो । ट्र्याक खोलेसँगै सहज हुनेछ,’ भीमदत्त नगरपालिका-९ मसेट्टीका स्थानीय कर्ण विकले भने, ‘छिट्टै गन्तव्यमा पुगिन्छ । अब चाँडै कालोपत्र भए हुन्थ्यो ।’