दार्चुला: भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ। मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई ललाईफकाई पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ।
प्रहरीले ०७७ भदौमा बलात्कार आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए। बिहीबार बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको हो।
१६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्। भारतमा सन् २०१२ मा ल्याइएको पोक्सो एक्ट (लैंगिक अपराधबाट बालबालिकाको संरक्षण अधिनियम–२०१२) अनुसार छुट्टै न्यायालयले १६ वर्षमुनिका बालिकामाथि हुने अपराधसम्बन्धी मुद्दा हेर्ने गर्छ।