बारा : भारतीय ‘सार्प सुटर’ सुजित सिंहलाई बारा प्रहरीले मंगलबार राति ९:३० बजे नियन्त्रणमा लिएको छ।
सुजित सिंह भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका हुन्। सिंहलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोली सहित पक्राउ गरेको हो।
जिल्लाको बिश्रामपुर गाँउपालिका-३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोमा खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी सुरेशकाफलेले बताए। सिहको दुवै खुट्टामा गोली लागेको छ।
गत असोजको दोश्रो हप्ता बाराको सदरमुकाम कलैयामा दुई मोटरसाईकलमा आएका चार जनाको अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए। सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको थियो।
खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ। सिह यस अघि बारामा भएका दुई घटनाका समेत जोडिएको प्रहरीले जनाएको छ।
घटनाको छानविन भइरहेको र विस्तृत विवरण आउन बाँकी छ।