काठमाडौं: विशेष अदालतले भ्रष्टाचारी ठहर गराएका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहले अनुकुल समयमा यथार्थ विवरण सार्वजनिक गर्ने बताएका छन् ।
२० फागुन, २०७६ मा रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरूद्ध दर्ता गरेको मुद्दामा विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेको हो। तर उनले भने उक्त प्रकरणको यथार्थता अर्कै भएको फेसबुकममार्फर जनाएका छन्।
अछाम घर भएका शाह सिन्धुलीको दुधौली तालिम केन्द्रका तत्कालीन समादेशकसमेत हुन्। मध्यक्षेत्रीय तालिम केन्द्र दुधौली, सिन्धुलीमा रहँदा उनीसहित चार जनाले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोप लागेको थियो।
यो प्रकरणमा लेखापाल एवम् पूर्वप्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई अदालतले दोषी ठहर गरेको हो। यससँगै अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेस गर्न पनि अदालतले आदेश दिएको छ।
पूर्वडीआईजी शाहसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुनमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उनीहरूले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ हिनामिना गरेको आरोप थियो। त्यस्तै १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६.८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलबी भरपाइमा कीर्ते दस्तखत गरी हिनामिना पुष्टि भएको अख्तियारको दाबी थियो।
अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।