काठमाडौं : आज तमु ल्होसार। ल्होसारको शुभकामना शन्देस सार्वजनिक गरे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले।
तर, उनले आफू कुन प्रदेशको मुख्यमन्त्री हुँ भनेर खुलाउन सकेनन्। कारण हो, कोशी प्रदेशको नामलाई लिएर विवाद।
कार्कीले शुभकामना त दिए। तर, बेनामे प्रदेशको लेटर हेडमा। त्यसैमा उनले आफूलाई मुख्यमन्त्री भनेर चिनाए पनि प्रदेशको नाम भने खुलाउन सकेका छैनन्।
कार्कीले ल्होसारको शुभकामना सन्देश जारी गरेसँगै उनको नियतमाथि सर्वसाधारणले शंका गरेका छन्।
कोशी प्रदेशका बहुमत सदस्यले नामाकरण गरेको प्रदेशको नाम सरकारी लेटरहेडमा नराखेर कार्कीले कोशी प्रदेशलाई बेनामे बनाएका छन्।
कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलन र विरोधलाई राजनीतिक सहमतिबाट टुंगोमा पुर्याउने अवस्था रहदा रहदै मुख्यमन्त्री कार्कीले सरकारी कागजातमा प्रदेशको नाम नै हटाएर गैरजिम्मवार भूमिका देखाएका छन्।
बहुमत सदस्यले कोशी प्रदेशको नाम जुराए जस्तै कार्की पनि कोशीका बहुमत सदस्यबाट निर्वाचित मुख्यमन्त्री हुन्।
कार्कीले सरकारी लेटरहेडमा प्रदेशको नाम उल्लेख नगर्ने हो भने मुख्यमन्त्रीको कुर्सीमा बस्ने योग्यता र नैतिकता दुवै गुमाउने छन्।