काठमाडौँ– रसुवाको आमाछोदिङमो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट दुई जनाले उम्मेदारी दिएपछि दुबै जनाको उम्मेदवारी रद्द भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरिदिएको हो ।
एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । तर उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा रहेको नाम नहटाएको पाइएपछि उनको उम्मेदवारी रद्द गरिएको हो । निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन ।
तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो । तर, नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुई वटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनको उम्मेदवारी पनि रद्द गरिएको छ। उम्मेदवारी रद्दको सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन्।