बाजुरा : बजुरामा गर्भवती महिलाको बलात्कार मुद्दालाई लिएर भ्रम फैलाउनेलाई कानुनी कारबाही गरिने बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी कविन्द्र बोहोराले महिलाको मुद्दा दर्ता गर्न आलटाल गरेको तथा बिना गल्ती पीडित महिलाका श्रीमान र देवरलाई थुनेको झुटा आरोप लगाएर सामाजिक संजालमा भ्रम फैलाउनेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो ।
महिलामाथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भइ आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सिंह २ जनामाथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर व्यक्तिको बद्नाम गराउन फोटो, भिडियो पोष्ट गर्ने, गाली बेइज्जती र अनावश्यक टिकाटिप्पोणी गर्ने कार्यप्रति जिल्ला प्रहरी कार्यालय सूचना अधिकारीका तर्फबाट जारी विज्ञप्तिमार्फत ध्यानाकर्षण गरिएको छ ।
सो समयम प्रहरी प्रमुख बोहोरा जिल्लामा नरहेकोसमेत प्रष्ट पारिएको छ ।
बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार भएको थियो। जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि बलात्कार भएको हो।
दलित समुदायकी ती महिलालाई बलात्कार गरेको आरोपमा जंगसिंह बुढा नामका व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए।
डीएसपी बोहराका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ।
बलात्कारमा संलग्न आरोप लागेका बुढालाई उनीहरूले कुटपिट गरेका थिए। सुनार पक्षले जवरजस्तीकरणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ।