काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका लागि परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा उनी काठमाडौं आएका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बिहान ११ बजे शीतलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुने तालिका छ ।
दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।