धनगढी : नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको कवाडको विषयमा विवाद आएको छ। अस्ति काठमाडौँको बीएनएस कन्सट्रक्सनका ट्रकले ती कवाड बोकेर लग्दै गरेको अवस्थामा स्थानीयले ट्रक रोकेका थिए।
नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै कैलालीको गेटामा स्थानीयले ट्रक रोकेका हुन्।
त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी, इलाका प्रहरी कार्यालय मालाखेतीसहितको टोलीले तामाजन्य पदार्थहरु (तार) बोकेका २ गाडी नियन्त्रणमा लिएको थियो।
खासमा टेलिकमको प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद निम्तिएको थियो।
तर नेपाल टेलिकम कार्यालय धनगढीका प्रमुख सुरत मल्लले तामाजन्य कवाडको ठेक्का पाएको बीएनएस कन्सट्रक्सनले तौल गरेरै कवाड उठाएको दाबी गरेका छन्।
अहिले ती गाडी प्रहरीकोमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।