कैलाली– कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ । जिल्लाका कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएका कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिएका हिराजन विष्टविरुद्ध उजुरी परेको छ ।
पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिनुभएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए ।
कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । जिल्लाका पालिकाहरूमा सोमबार अबेर रातिसम्म उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो ।
अधिकांश उम्मेदवार अपराह्नपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराउन आएपछि देखिएको भीडले कर्मचारीलाई दर्ता प्रक्रिया पूरा गर्न निकै समय लागेको थियो । अधिकांश पालिका तहका निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी आज पनि उम्मेदवार दर्तासम्बन्धी कामको रुजु गर्नेलगायतको काम गरिरहेका थिए ।