काठमाडौं : बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ ।
उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।
बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ गर्न सफल भएको बताइन् ।
हाम्रो टोलीले निरन्तर प्रयास गरेको थियो । केही दिनदेखि उनको मुभमेन्ट हात्तीगौडामा देखिएपछि हाम्रो टोली मंगलबार पक्राउ गर्न सफल भएको हो, एआईजी बज्राचार्यले भनिन् ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।
त्यही कारण ६ बजे नै घर पत्ता लागाएको प्रहरीले भित्र छिर्ने उपायको खोजी गर्दा एक घण्टा लाग्यो । प्रहरीले बम्जनको घरभित्र छिर्न प्रयास गरिरहेकै बेला एकजना उनको घरमा पानीको जार पुर्याउने मानिस आइपुगे ।
उनले घरको बेल दिए । सधैँ पानी पुर्याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पस्यो । सीसीटीभी मनिटरिङ गर्ने रुममा त्योबेला कोही थिएन । बम्जन तरकारीसित रोटी खादैँ थिए ।
त्यहीबेला प्रहरी भित्र छिरेको चाल पाएर भाग्न खोज्दा उनी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
‘म तवस्वी हुँ, बाहिरी संसारको मतलब छैन’
सीआईबीले पक्राउ गरेर ल्याएलगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका छन्, मलाई किन यस्तो आरोप लाग्यो रु मलाई थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।
प्रहरीले उनी केही समय अघिमात्रै काठमाडौं छिरेको सूचना पाएको थियो । उनले सिन्धुलीको आश्रममा चलाउने मोबाइल नम्बर र दुई दिनअघि बूढानीलकण्ठ क्षेत्रमा एक्टिभ भएको देखिएको थियो ।
सोही लोकेसनको आधारमा प्रहरी उनको हात्तीगौडास्थित घरसम्मै पुगेको हो ।
आलिसान घर, विलासी जीवन
प्रहरीले यसअघि उनको सिन्धुलीको आश्रममा पनि छापा मारेको थियो । सिन्धुलीस्थित उनले आश्रमभित्र स्विमिङ पुलदेखि जिम खानासम्म निर्माण गरेर विलासी जीवन बिताएको खुलाएको थियो ।
तर, उनी हात्तीगोडास्थित घर भित्रसमेत सोही प्रकृतिको संरचना खडा गरेर बसेको खुलेको छ । चारतले घरको सबैभन्दा माथिल्लो तलामा उनले जिमखाना राखेका थिए । अति जरुरी कामबिना बाहिर ननिस्कने बम्जनले घरभित्र बिहान बेलुका जिम गर्ने र दिउँसो समयमा ध्यान गर्ने गर्थे । अटेच बाथरुमसहितको उनको सुत्ने कोठा छ । उनी आफू घरको तेस्रो तलामा बस्दै आएका थिए ।
प्रहरीको अनुसार उनले करिब पाँच करोड पर्ने टोयोटाको हाइलक्स वाग्ममती प्रदेश–०१०२५च३६४० नम्बरको गाडी चढ्ने गरेका थिए । प्रहरीले सो गाडी नियन्त्रणमा लिइसकेको छ । त्योबाहेक उनीसँग अर्को गाडीसमेत रहेको सीआईबीले जनाएको छ ।
प्रहरीले गाडीबाहेक उनको घरबाट तीन करोड ३० लाख रुपैयाँ नगद र १५ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार हालसम्म बम्जनले चारजना अनुयायीलाई बेपत्ता पारेको उजुरी छ । २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।
सोही उजुरीको आधारमा बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।