धनगढी: अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैमाथि गोली प्रहार गरेका छन्।
तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका ४५ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले चन्दले आफैंले बोकेको पेस्तोल बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको हो। अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
मेडिकल कलेजमा उपचाररत चन्द बोल्न सक्ने अवस्थामा रहेका छन्। घटनाबारे छानविन गर्न डोटी प्रहरीका प्रमुख एसपी बिनोद शर्माको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले समिति बनाएको डीआईजी केसीले बताए।
सो समितिले ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने छ। यस्तै जिप्रका अछामले पनि इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन थालेको छ।
स्रोतका अनुसार चन्दले व्यक्तिगत कारणले गोली चलाएका थिए। यद्यपि छानबिनबाट यथेष्ट कारण पत्ता लाग्ने छ।
राति घटनाको सूचना पाएलगतै अछामका डीएसपी ईश्वरी भण्डारीसहितको टोली घटनास्थलमा पुगेर उनलाई उपचारका लागि सुर्खेततर्फ पठाएका थिए। राति सवा २ बजेतिर सुर्खेत लगे पनि उनलाई त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो।
शुक्रबार बिहान सवा ७ बजेदेखि असई चन्दको नेपालगञ्ज मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ। सुदूरपश्चिमका डीआईजी केसीले घटनाको गम्भीरतालाई लिएर एसपीकै नेतृत्वमा समिति गठन गरेर छानबिन गर्न निर्देशन दिएको बुझिएको छ।