पर्वत : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंले ५० हजार पुरस्कार राशि रहेको खुला राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।
सशस्त्र प्रहरी बलको २३ औँ वार्षिकोत्सवको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ। सशस्त्र प्रहरी बल, नेपाल र यसको कार्यादेशसँग सम्बन्धित विषय वा शीर्षकमा कविता लेख्न सकिने छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने कविताले पुरस्कार स्वरूप क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पाउने छन्। यस्तै उत्कृष्ट सातमा परेका सात जना प्रतियोगीहरूलाई सात हजार रुपैयाँका दरले प्रोत्साहन गरिने पनि सशस्त्र प्रहरी बलले बताएको छ।
प्रतियोगितामा भाग लिन इच्छुकले पुस २९ गतेभित्रमा तीन सय २० शब्द भन्दा लामो नहुने गरी सशस्त्र प्रहरी बलको इमेल ठेगाना apfspokesperson@gmail.com मा मेल गर्न भनिएको छ। सहभागीहरूमध्येबाट उत्कृष्ट १० ओटा कविताको वाचनको लागि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक काठमाडौंमा आउँदो माघ पाँच गतेका लागि आमन्त्रण गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।
नेपालमा हुन सक्ने सङ्घर्ष नियन्त्रण गर्ने, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्ने, आतङ्ककारी गतिविधि नियन्त्रण गर्ने, दङ्गा नियन्त्रण गर्ने, दैवी प्रकोप र महामारीबाट पीडितलाई सहयोग गर्ने, नेपालको सीमा सुरक्षा गर्ने, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्ने सशस्त्र प्रहरी बलका कार्यादेशहरू हुन्। यस्तै नेपाल सरकारले सुरक्षा दिनुपर्ने ठह¥याएका व्यक्ति र तोकेका संस्था आदिको सुरक्षा गर्ने, राजश्व, भन्सार तथा औद्योगिक क्षेत्रको सुरक्षा गर्ने, रेलवेको सुरक्षा गर्ने, सशस्त्र प्रहरी ऐन, २०५८ अनुसार तोकिएका काम गर्ने पनि सशस्त्र प्रहरी बलको कार्यादेश हुन्।
कविता लेखन प्रतियोगितामा भाग लिन इच्छुकहरूले तिनै कार्यादेशमा आधारित भएर कविताको रचना गर्न र शीर्षक छनोट गर्न सक्ने छन्। यो प्रतियोगिता खुला भएकोले इच्छुक जो कसैले पनि भाग लिन पाउने छन्।