डडेल्धुरा : माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशक सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्।
परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।
परशुराम धाममा भगवानका दश अवतारमध्ये एक परशुरामको अवतार भएको किम्बदन्ती रहदै आएको छ। उक्त धाममा हरेक बर्ष माघ १ गतेदेखि दुई दिनसम्म मकर मेला लाग्ने गरेको छ। मेला भर्न सूुदूरपश्चिमका बिभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शजनार्थीहरु आउने गर्दछन्।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागीरी मन्दिरमा सती देवीको पूर्ण अंग पतन पछि भगवान शिव आएर यही धाममा लामो समय तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको किम्वदन्ती रहेको छ। चूरे पर्वत श्रृंखला र महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्येभागमा रहेको परशुराम धाम डडेल्धुरासदरमुकाम देखि झण्डै १ सय किलोमिटर र कंचनपुर जिल्लाबाट ३९ किलोमिटरको दुरीमा पर्छ।
धार्मिक पर्यटकीय दृष्टीकोणले पनि परशुराम धाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरु मध्येको रमणीय क्षेत्र मानिदै आएको छ।