धनगढी : कञ्चनपुरको एक सहकारीले बचतकर्ताको करोडौं रकम ठगेर भागेको छ। भीमदत्त नगरपालिका-४ स्थित समावेशी बहुउद्देश्य सहकारीले स्थानीयको करोडौं रकम ठगेर भागेको हो।
झण्डै दुई वर्ष अगाडि स्थापना भएको उक्त सहकारी संस्थाले त्यहाँका स्थानीयबाट दुई करोडबढी रुपैयाँ ठगेको पाइएको छ। अहिले उक्त सहकारीका सञ्चालक तथा कर्मचारीहरु कार्यालय नै बन्द गरेर फरार भएका छन्।
उक्त सहकारीले स्थानीय सुमिता आचार्यको तीन लाख ५० हजार, शम्शेरबहादुर सुनारको सात लाख १२ हजार, गणेश बहादुर सुनारको ६ लाख १५ हजार, पुष्पादेवी धामीको दुई लाख २७ हजार बढी रकम हिनामिना गरेको छ।
स्थानीय कमला डाँगाले आफूसहित अन्य बचतकर्तालाई सहकारीले ठगेको बताइन् । ‘मैले असोज महिना बचत रकम फिर्ताका लागि २० हजारको चेक काटेको थिए, तर दिएनु उनले भनिन्, ‘दोस्रोपटक जाँदा सहकारी कार्यालय नै बन्द भएको रहेछ।’
उनले सहकारीका पदाधिकारी तथा कर्मचारीसँग बचत रकम फिर्ताका लागि माग गर्दा भोलिपर्सी भन्दै टारिरहेको बताइन्। ‘कस्मेटिक पसलबाट केही नाफा भएको रकम मैले दुई छोरा र आफ्नो नाममा नियमित बचत गर्दै आएको थिए, तर आज आएर सहकारीले नै यसरी ठगिदियो’ उनले भनिन्।
उनले आफ्नो ७० हजार रुपैयाँ सहकारीमा बचत रहेको बताइन्। ‘हामीलाई ब्याज होइन साँवा पनि फिर्ता दिनुपर्योु उनले भनिन, ‘आफ्नै पैसा निकाल्न पनि यसरी हामी ठगिए।’
उनले आफूजस्तै अन्य १६ सय बचतकर्ताको रकम सहकारी सञ्चालकहरुले हिनामिना गरेर फरार भएको बताइन्। डाँगीले आफूहरुलाई सहकारीले रकम बिनाको चेक दिएर सञ्चालक तथा कर्मचारीहरु सम्पर्कविहीन भएको बताइन्।
भीमदत्त नगरपालिका-१८ महेन्द्रनगरकी पुष्पादेवी धामीले आफ्नो २ लाख २५ हजार बचत रहेको बताइन्। ‘मेरो किराना पसल छ, विभिन्न शिर्षकमा मैलेपनि नियमित घरपरिवारका नाममा रकम बचत गरेको थिए, फिर्ता माग्न जाँदा अहिलेसम्म फिर्ता दिएको छैनु उनले भनिन्, ‘आफ्नै रकम फिर्ता मागेको तीन महिना बितिसक्यो, तर पनि फिर्ता गरेका छैन।’
उनीहरु सहकारीमा पैसा बचत गरेकाहरू लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन्। ब्याजको प्रलोभनमा परि स्थानीय नागरिकहरू करोडौं रकम जम्मा गरेका थिए।
सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन्। सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिएको भएपनि प्रहरीले उजुरी नै दर्ता नगरेको गुनासो गरेका छन्।
पीडितहरुले पुस २३ गते सहकारीका सञ्चालक मधु कार्की भट्ट, सचिव अरुण बिष्ट, उपाध्यक्ष कृष्ण बिष्ट, कोषाध्यक्ष रोशन बिष्ट र सदस्य राकेश बिष्टविरुद्ध उजुरी दिएका थिए । उनीहरुबाट ठगिएको भन्दै झण्डै १६ जनाले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिएका थिए।
प्रशासनले प्रहरी कार्यालय पठाएको र प्रहरीले सहकारी सञ्चालकहरुको नागरिकता लिएर आउन भन्दै उजुरी दर्ता नगरेको गुनासो पीडितको छ। तीन महिना अगाडि बाउन्स चेक दिएको र अहिले सञ्चालक सदस्यहरु सम्पर्कविहिन भएको पीडितहरुको गुनासो रहेको छ।
बचतकर्ताहरुले सहकारीमा जम्मा भएको रकम पदाधिकारीले दुरुपयोग गरेपछि आफूहरु विचल्लीमा परेको आरोप लगाएका छन्। उनीहरुले रकम फिर्ता नभए सहकारीबिरुद्धमा भौतिक रुपमै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
यता सहकारीले भने बचतकर्ताको रकम फिर्ता हुने जनाएको छ। सहकारीका सचिव अरुण विष्टले बचतकर्ताहरुलाई तीन महिनाको समय मागेको र सबैको रकम फिर्ता गर्ने बताए। ‘हामी पदाधिकारीले कुनैपनि बचतकर्ता र शेयरधनीको रकम ठग्ने कुरै भएनु उनले भने, ‘कतिपयको फिर्ता गरिसकेका छौँ, बाँकीको १५ पुषभित्रै फिर्ता गर्ने तयारीमा छौं।’
सचिव विष्टले २ करोड ४९ लाख बजारमा रहेको र २करोड ५० लाख दिनुपर्ने बताए। ‘कुनैपनि बचतकर्ताको रकम डुब्दैन, कसैलाई हामी ठग्दैनौुं उनले भने, ‘सबैको फिर्ता हुन्छ। लगाएको ऋण अशुल हुन बाँकी छ।’
बचत फिर्ता नभएको भन्दैमा ठगिएको जस्ता गुनासो नराख्न समेत उनले अनुरोध गरेका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने जानकारी नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हर्क चन्दले कार्यालयमा आउनेहरुलाई छलफलको लागि पठाएको र उजुरी दर्ता नभएको बताए।
समावेशी बहुउद्देश्य सहकारीमा झण्डै १६ सय हाराहारीमा शेयर तथा बचतकर्ता रहेका छन् ।