धनगढी/कैलालीका स्थानीय पालिकामा लगातार छ दिन बिदा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्व र स्थानीय सरकारले दुई दिन माघी पर्वको स्थानीय विदा थपेपछि बिदा लामो भएको हो । यसैबेला पुस २७ मा राष्ट्रिय एकता दिवस, माघ १ गते माघे सङ्क्रान्ति र एउटा शनिबार परेको थियो । जबकी यस वर्ष दशैं र तिहारमा पनि पाँचरपाँच दिन मात्रै सार्वजनिक विदा थियो ।
सुदूरपश्चिमका केही पहाडी जिल्लामा मनाइने भुवा पर्वलाई प्रदेश सरकारले प्रदेशभरि र थारु बहुल क्षेत्रका पालिकाले माघे संङ्क्रान्तिको एकदिन अघि र एकदिन पछि स्थानीय बिदा दिएका छन् । माघ १ गते थारु समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष माघी पर्दछ ।
पुसको अन्तिम दिन थारु समुदायले जीता (बङ्गुर, सुगर) मारेर माघी शुरु गर्छन भने माघ १ गते तिहार मानिन्छ । माघ २ गते छोरीबहिनीहरुलाई अग्रासन पु¥याउने चलन छ । थारु समुदायमा माघ महिनाभरि नयाँ वर्षका रुपमा मनाउने चलन छ । यस अवधिमा नयाँ वर्षका लागि गाउँको भल्मन्सा छान्ने, नयाँ कामको शुरुवात गर्ने, घर फाटने लगायतका काम गर्छन भने अन्य समुदायमा पनि माघ महिनालाई पवित्र महिनाको रुपमा मनाउने, सेल रोटीका परिकार बनाउने, छोरी, बहिनी, भान्जीलाई चेली तिहार पु¥याउने चलन छ ।
आर्थिक र सामाजिकरुपमा पछि परेको सुदूरपश्चिम प्रदेश साँस्कृतिकरुपमा भने भरीपूर्ण छ । यसैले पर्व विदा पनि प्रशस्तै छन् । आर्थिक वर्ष २०८०/८१ पहिलो छ महिनामा सुदूरपश्चिममा २६ वटा शनिबार र २९ दिन पर्व र स्थानीय गरी ५५ दिन बिदा परेको छ ।
सुदूरपश्चिममा डोटेली, थारु, रानाथारु, खस संस्कृतिका मानिसको मिश्रित बसोबास छ । तपाईका कैलाली कञ्चनपुरमा पूर्वबाट बसाइ सरेका थारु, पहाडबाट बसाइ सरेका डोटेली र खस संस्कृतिका मानिससंगै तिनीहरुका संस्कृति पनि सरेका छन् भने तिनीहरुले मान्ने सास्कृतिक पर्वहरु पनि महत्वका साथ मनाइन थालिएको छ । पर्वहरुमा तीनवटै तहका सरकारले बिदा दिदा दिन बढेका छन् । बिदाले केही नागरिक खुशी भए पनि कामकाजी मानिसहरु, सरकारी सेवा लिनुपर्ने सेवाग्राहीहरु भने प्रभावित हुने गरेका छन् ।
कैलालीको जानकी गाउँपालिकाले दिएको बिदालाई आधार मान्दा साउनमा २ गते मुक्त कमैंया दिवस र ४ शनिबार गरेर ५ दिन बिदा परेको छ । भदौमा १२ दिन विदा परेको छ । भदौ १ गते ओल्के पर्व, ४ गते गुरही नागपञ्चमी, ७ र ८ गते गौरा पर्व, १४ गते रक्षाबन्धन, २८ गते शोक विदा र ३१ गते अतवारी विदा परेको छ भने ५ वटा शनिबार परेका छन् ।
असोजमा ३ गते संविधान दिवस, २८ गते घटस्थापना र ४ शनिबार गरी ७ दिन विदा परेको छ । असोज १ गते तीजमा महिला विदा थियो । कात्तिकमा दशैंका ५ दिन, तिहारका ५ दिन र ४ वटा शनिबार गरी १४ दिन बिदा परेको छ । मङ्सिरमा ३ गते छठ, १७ गते शोक विदा र ५ वटा शनिबार गरी ७ दिन बिदा परेको छ । अद्र्धवार्षिक प्रगति देखिनु पर्ने पुस महिनाका २९ दिन मध्ये १० दिन विदा परेको छ । क्रिसमस, तमु ल्होसार, भुवा पर्व, राष्ट्रिय एकता दिवस, माघी पर्व गरी छ दिन र ४ शनिबार गरेर १० दिन बिदा परेको हो । जानकी जस्तै थारु बहुल बसोबास भएको टीकापुर भजनी नगरपालिका, जोशीपुर, कैलारी लगायतका पालिकामा पनि बिदा दिइएको छ ।
यसका साथै सरकारी कर्मचारीलाई वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा र ६ दिन भैपरी बिदा पाउने सुविधा छ । औसत निकाल्दा कयौं कर्मचारीले २४ दिनसम्म बिदा सुविधा पनि लिइरहेका छन् भने क्रिया, सुत्केरी, सुत्केरी स्याहार जस्ता विशेष बिदा पनि पर्दछन् । यसका साथै तराईमा बाढी डुवान भएका कारण वर्षामा कार्यालयको सेवा प्रभावित हुने गरेको छ ।