काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले १२ प्रहरीमाथि कारबाही गर्न सिफारिस गरेको छ । मानव अधिकार उल्लंघनको घटनामा आयोगको सिफारिसपछि उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
सिराहाका तत्कालीन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, जिप्रका खोटाङका इन्स्पेक्टर गोविन्द शाह, सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नाल, सिराहा इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठ कारबाहीमा पर्न लागेका हुन् । त्यस्तै, उदयपुरका सई श्याम राउत, सोलुखुम्बुका असई असई नवराज दाहाल, उदयपुरका असई ऋषी खनाल, खोटाङका असई राजन नेपाल, सिराहाका असई रामकुमार यादव र उदयपुरका हवलदार भुवनसिंह कार्कीमाथि पनि कारबाही हुने भएको छ ।
यस्तै सिराहाका तत्कालीन सिडिओ सरोज प्रसाद गुरागाईँ, खोटाङका तत्कालीन सिडिओ शालिकराम शर्मा पौडेल, उदयपुरका दीपक पहाडी र सोलुखुम्बुकी रमा आचार्यमाथि विभागीय कारबाही हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता चक्रबहादुर खत्रीलाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखेको अभियोग उनीहरुमाथि छ । उनीहरुले अभियोगबिना नै २०६६ र २०७७ सालमा खत्रीलाई ६ पटक पक्राउ गरेका थिए । सोही आधारमा उनीहरुमाथि कारबाही गर्न आयोगले सरकारलाई ताकेता गरेको हो ।
त्यसपछि प्रधानमन्त्री कार्यालयले गृहलाई पत्राचार गरेको हाे । खत्रीलाई एक लाख क्षतिपूर्ति दिन पनि प्रधानमन्त्री कार्यालयले सिफारिस गरेको छ ।