रसुवा – रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी परेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठ जना विरुद्ध उजुरी परेको हो ।
आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो । सोही गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले, कांग्रेसका उम्मेदवारविरुद्ध एमालेलेका उम्मेदवारले उजुरी दिएका छन् ।
यस्तै तीन सदस्य पदका लागि पनि उजुरी दिएको उनले बताए । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारले उजुरी हालेका छन् । कांग्रेसबाट उम्मेदवार दिएकाविरुद्ध आफू कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।
उत्तरगया गाउँपालिका दलित महिला सदस्यविरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको जनाइएको छ ।