काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार सुदूरपश्चिमका पाँच जिल्लासहित २२ जिल्लामा मतपत्र पठाएको छ । आयोगले हालसम्म छापिएका ३४ लाख मतपत्र जिल्लामा पठाएको जनाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड गरि २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको आयोगले जनाएको छ । आयोगले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको हो । ती मतपत्र केही दिनभित्र सम्बन्धित पालिकामा पुग्नेछ आयोगले जनाएको छ ।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको जनाएको छ ।