धनगढी : कलाकार ध्वज महराले ल्याएको देउडा गीत ‘गडबड गाउँपालिका’ को म्युजिक भिडियो विवादीत बनेको छ । महरा र भाइरल देउडा गायिका इब्सल सञ्ज्यालले गाएको ‘गडबड गाउँपालिका’ गितको म्युजिक भिडियो विवादीत भएको हो ।
म्युजिक भिडियोमा राखिएको ‘हरुवा ढाँट’ शब्दलाई लिए ढाँट समुदायका मानिसले आपत्ती प्रकट गर्दै विरोध गर्दै गायक महरालाई अनेक धम्की समेत दिइएपछि विवाद कैलाली प्रहरीमा पुगेको छ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–७ घर भएर हाल धनगढी बस्दै आएका तुलाराम ढाँटले ‘हरुवा ढाँट’ शब्दलाई लिएर ‘ढाँट’ समुदायको अपमान भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अरुले समेत विरोध जनाएका थिए ।
सोही विषयलाई लिएर गायक ध्वज महरालाई लक्षित गर्दै अपशब्द लेखेर गालीबेइज्जती गरेको भन्दै महराले जिल्ला प्रहरी कार्यालय कैलालीमा कारवाहीको माग गर्दै उजुरी दिएका थिए । गितबाट ‘ढाँट’ शब्द हटाउनुपर्ने माग गर्दै आएका स्थानीय ‘ढाँट’ समुदायका केही मानिसले महरालाई ज्यान मार्नेसम्मको धम्की दिएपछि उनी सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले दुवै पक्षलाई बोलाएर शुक्रबार छलफल गराएको छ । जिप्रकामा दुवै पक्षबीच गितको म्युजिक भिडियोबाट ‘ढाँट’ शब्द हटाउने मौखिक सहमति भएपनि मिलापत्र हुन बाँकी छ । शुक्रबारको छलफलम गायक महरालाई ज्यान मार्ने धम्की दिने थप दुई जना युवा नआएका कारण सहमती हुन नसकेको हो ।
गायक महरा र इब्सल सञ्ज्यालको स्वरमा रहेको गितको म्युजिक भिडियोमा पत्रकार लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, टेक बहादुर ऐर, मनिषा धामी, प्रेम धामी तथा शिव चुनारा लगायतले अभिनय गरेका छन् । डडेल्धुरा जिल्लाका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक महराकै संगीत र निर्देशक भिम थापाको निर्देशन रहेको छ ।