काठमाडौं : चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपिएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) अर्थात् मुन स्नाइपर चन्द्र मिसन सफल भएसँगै जापान उक्त सूचीमा थपिएको हो । यससँगै अमेरिका, तत्कालीन सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश जापान बनेको छ ।
जापानी यान नेपाली समयअनुसार शुक्रवार बेलुकी ९ः०५ बजे यानले चन्द्रमाको सतह टेकेको हो । तर यानको सोलार सेलले भने विद्युत् उत्पादन गर्न बन्द गरेको बताइएको छ । त्यसो हुँदा चन्द्र सतहमा वैज्ञानिक परीक्षण गर्न यान सक्षम हुने छैन ।
“यानले ब्याट्रीको भरमा मात्र काम गरिरहेको छ । हामीले यसको डेटालाई पृथ्वीमा पठाउने कामलाई प्राथमिकता दिइरहेका छौं”, जापानी अन्तरिक्ष एजेन्सी जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सी (ज्याक्सा)का प्रमुख हिरोशी यामाकावाले भनेका छन् ।