धनगढीः सुदूरपश्चिममा सुरक्षाकर्मीकै संरक्षणमा नेपाल टेलिकमको तामाजन्य कवाडको चोरी तस्करी भएको खुलेको छ। कैलालीसहितका विभिन्न स्थानबाट कवाडको प्रहरीकै मिलेमतोमा चोरी तस्करी भएको पाइएको हो।
टेण्डर प्रक्रियामै सेटिङ गरिएको सुदूरपश्चिमको कवाडवाला ठेक्कामा प्रहरीले मात्र होइन, ठेकेदार, नेता तथा गुण्डा र पत्रकारसमेतले बार्गेनिङ गरेको बताइन्छ। ठेक्का सेटिङदेखि लिएर कवाडी माल पास गराउनेसम्मको सेटिङ नै सेटिङ भएको सो ठेक्काको ट्रकहरु समातिएपछि भने पर्दाफास भएको हो।
लाखौंको डिलिङ भएका ठेकेदारलाई सेटिङ भत्किदा ट्रकहरु समातिएपछि फसाद भएको हो। अस्ति नै कैलालीको अत्तरियामा २ ट्रक कवाडसहित समातिएपछि अनुसन्धान गरिएकोमा नेपाल टेलिकमको तामाजन्य कवाडमा करोड बढी घोटाला भएको पुष्टि भएको थियो।
सो काण्डमा अहिले अख्तियारले पनि चासो दिएको बताइन्छ। सुरुमा जिल्ला प्रशासन कार्यालय कैलालीले छानबिन गरेकोमा अहिले सो प्रकरणको थप छानविनको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्राचार गरिएको बताए। तर, कैलाली प्रहरीकै केही अधिकृतहरुको ठेक्कामा सेटिङ भएकोले निष्पक्ष अनुसन्धान हुनेमा भने आशंका गरिएको छ।
तर उता अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रमेशकुमार केसीले भने कवाडको घोटाला प्रकरणको सुक्ष्म अनुसन्धान गरिने बताए।
सुरुमा नेपाल टेलिकमको कबाडजन्य पदार्थमा अनियमितता भएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो। त्यसपछि छानविन समिति गठन भएकोमा छानविन समितिको निर्देशनपछि प्रहरीले दुई वटा ट्रक समातेर अनुसन्धान थालिएको थियो।
नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी बिक्रीको ठेक्का गरिएको हो। यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनीबीच मिलेमतो भएको बुझिएको छ।
प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग कपरजन्य पदार्थको ठेक्का सम्झौता गरेको थियो।
नेपाल टेलिकम दूरसञ्चार निर्देशनालयका अनुसार बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाजन्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो।
कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको थियो। कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरुबाट सङ्कलन गरिएको तामाजन्य कबाडको तौल र ट्रकहरुमा रहेको कबाडको तौलमा दोब्बरको फरक परेपछि लफडा भएको हो।
छानबिन समितिले नेपाल टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम रहेको खुलेको जनाएको थियो। यस्तै टेलिकमसँग रहेको बिल र ट्रकमा रहेको कबाडको तौल १२ हजार ५३ किलोग्राम बढी देखिएको बताइएको थियो।
टेलिकमले प्रतिकिलो ८ सय ५० रुपैयाँ ८९ पैसामा कवाड बिक्री गर्ने सम्झौता गरेको थियो। सो अनुसार एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढी देखिएको हो। यस हिसाबले टेलिकमले १२ हजार ५३ किलोग्राम कबाड ती दुई ट्रकमा पठाएको खुलेको थियो।
गेटामा रहेको गोदाममा १२ हजार ५३ किलोग्राम कबाड रहेको टेलिकमको तथ्याङ्क थियो। तर, टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम कबाड बिक्री गरेको पत्र बनाएको थियो। टेलिकमले ना ६ ख ४६० र रा १ ख ३२०६ नम्बरको ट्रकमा तामाजन्य कबाड बिक्री गरेर पठाएको थियो।
सो कम्पनीको ठेक्काअनुरुप कैलालीका केही स्थानबाहेक अझै अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दिपालयबाट सामान उठाउन बाँकी रहेको बताइन्छ। स्रोतका अनुसार केही महिनाअघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रीका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढीमा ठेक्का सम्झौता गरिएको थियो।
तर, सम्झौताविपरीत टेलिकमको अभिलेख भन्दा ट्रकमा झण्डै दोब्बर तौलको कबाड फेला परेपछि यो प्रकरण प्रहरीको फन्दासम्म पुगेको हो। दोब्बर तौलमात्र होईन केही प्रहरीको मिलेमतोमा केही ट्रक कैलालीको हुलाकी हुँदै चोरीतस्करी पनि गरिएको देखिजान्नेहरुको दाबी छ।