धनगढी : सुदूरपश्चिमसहित देशभर सशस्त्र प्रहरी बल नेपालले आफ्नो २३ औं सशस्त्र प्रहरी वार्षिकोत्सव मनाइरहेको छ। अस्तीबाट थालिएको वार्षिकोत्सबको कार्यक्रम माघ ९ गते समापन गरिने जनाइएको छ।
जसमा अहिलेसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न भएको र केही कार्यक्रम जारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सूचना अधिकारी एसएसपी रमेश कुमार पाण्डेले जानकारी दिए।
उनका अनुसार वार्षिकोत्सबको अवसरमा बाहिनी अन्तरगत कैलाली तथा मातहत गणहरु, गुल्महरु र बेस, विओपीहरुले रक्तदान, स्वास्थ्य शिविर, लागुऔषध सम्बन्धिका कार्यक्रम, लैङ्गिक हिंसा, मानव अधिकार तथा विपद् व्यवस्थापन सम्बन्धि विभिन्न स्कुल, कलेज, क्लब तथा समुदायमा जनचेतनामुलक कक्षा संचालन, न्यानो कपडा तथा खाद्यान्न वितरण, विभिन्न मठमन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रमहरु गरिरहेका छन्। जसमा प्रदेशभर साताव्यापी कार्यक्रम जारी छन्।
जसअन्तरगत अहिलेसम्म नेपाल वैद्यनाथ बाहिनीको परिसरमा स्वास्थ्य शिविर तथा नेपाल रेडक्रस सोसाईटी संगको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा १३४ जना विभिन्न प्रकारका बिरामीहरुले स्वास्थ्य उपचार लिएको तथा कार्यरत ४१ जना राष्ट्र सेवकहरुले रक्तदान गरेको एसएसपी पाण्डेले बताए।
जसमा बाजुरा, कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा कार्यरत जम्मा ७४ जना सशस्त्र प्रहरी सहभागी थिए।
यस्तै बाहिनीमा रहेको क्षेत्रीय विपद् व्यवस्थापन टोलीले जिल्ला कैलाली गोदावरी नपा १ स्थित हेलील्याण्ड एकेडेमीमा अध्ययनरत ७१ जना शिक्षक र विद्यार्थीहरुलाई भुकम्पसम्बन्धि सचेतना कार्यक्रम संचालन गरेको र कञ्चनपुर, कैलाली, बैतडी, डोटी, दार्चुला, बाजुरा, अछाम, बझाङ्ग र डडेल्धुरा जिल्लामा भुकम्प, विपद् तथा प्रकोप, लैङ्गिक हिंसा तथा मानव अधिकार सम्बन्धि कार्यक्रम गरेको बताइएको छ।
जसमा ९४५ जना स्थानीय बासिन्दाहरु प्रत्यक्ष लाभान्वित भएको बुझिएको छ।त्यस्तै उद्योग वाणिज्य संघ अत्तरिया कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको उपस्थितिमा जिल्ला कैलाली गोदावरी नपा-१ अत्तरियामा अवस्थित विभिन्न मठ-मन्दिर शक्तिपीठ, अत्तरिया बजार, अत्तरिया बसपार्क र महोत्सब एरीयामा सरसफाई गर्नुका साथै महेन्द्रनगर, कैलाली, बैतडी, डोटी, दार्चुला, बाजुरा, अछाम, बझाङ्ग र डडेल्धुरा लगायतका प्रमुख शक्तिपीठहरु सिद्धनाथ बाबा मन्दिर, नैनादेवि मन्दिर, निष्ङ्गलासैनी भगवति मन्दिर, शैलेश्वरी मन्दिर, बासुधारा मन्दिर, मालिकार्जुन मन्दिर, वैद्यनाथ बाबा मन्दिर र उग्रतारा मन्दिर परिसरमा सरसफाई समेत गरिएको बताइएको छ।