काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले निर्मला पन्त हत्या प्रकरण ब्रेक थ्रु गर्न नसकेको दुःखी रहेको बताएका छन् ।
वैशाख १८ गते अनिवार्य अवकाशमा जान लागेका आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बुधबार सुरक्षासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताएका हुन्।
‘निर्मला काण्ड मेरै कार्यकालमा ब्रेक थ्रु भएको भए म अझै खुशी हुन्थेँ,’ उनले भने, ‘ब्रेक थ्रु गर्न हामी निरन्तर लागिरह्यौं। तर पनि अहिलेसम्म सुल्झन सकेन ।’ पछि प्रहरी नेतृत्वमा आउनेहरुबाट सुल्झिएला भन्ने अपेक्षा गरेको उनले बताए ।
२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानको क्रममा उनको बलात्कार पछि हत्या गरेको खुलेपनि अहिलेसम्म कसले हत्या गर्यो भन्ने पत्ता लाग्न सकेको छैन ।