काठमाडौं : डडेलधुरामा केहीदिन अगाडि तरकारीको विषादीले एउटै गाउँका ७ कृषकमा क्यान्सर र एकजनाको मृत्युको खबर बाहिर आयो।
अमरगढी नगरपालिका-११ फिन्नेकोटको उक्त खबर बाहिर आएपछि कृषि ज्ञान केन्द्रले चासो लिएको थियो।
त्यसपछि कृषि ज्ञान केन्द्र डडेल्धुराको आग्रहमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइ अत्तरिया कैलालीको टिम गत शुक्रबार डडेल्धुरा पुग्यो।
उक्त टोलीले अमरगढी नगरपालिका- ५ मा पर्ने बागबजारका सात व्यापारीको पसलबाट तरकारीको नमुना संकलन गरेर लग्यो। जसमा फूलगोभी, टमाटर र केरा छन्।
प्राविधिकको अभावमा सञ्चालनमा रहेको प्रयोगशालाले शुक्रबार र शनिबार उक्त नमुना फ्रिजमा राख्यो। र, आइतबार परीक्षण गरेर रिपोर्ट ज्ञान केन्द्रमा पठायो।
त्यसपछि आज (सोमबार) ज्ञान केन्द्रले पत्रकार सम्मेलन गर्यो। सम्मेलनमा ज्ञान केन्द्रका निमित्त प्रमुख खेमराज पनेरुले प्रयोगशालाले तरकारीको नमुना परीक्षण गरेर रिपोर्ट पठाएको बताउँदै कुनै पनि तरकारी र फलफूलमा विषादी नभेटिएको जानकारी दिए।
‘तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा मात्रै उपभोग गर्न नमिल्ने हुन्छ,’ पनेरुले भने, ‘तर डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको कुनै पनि तरकारीमा त्यति विषादी भेटिएको छैन। सामान्य विषादी प्रयोग भए पनि त्यसलाई विषादी नभेटिएको भन्न मिल्छ। प्रयोगशालाले नै हामीलाई सबै तरकारी उपभोग योग्य भएको भन्दै रिपोर्ट पठाएको छ।’
तर, ज्ञान केन्द्रले विषादी परिक्षण कर्मकाण्डी मात्रै गरेको आरोप लागेको छ। सम्बन्धित कृषकको खेतबारीमै गएर कृषि उपजको नमुना ल्याएर परीक्षण गर्नुको साटो बजारको तरकारी मात्रै परीक्षण गरेर विषादी प्रयोग हुँदैन भन्नू ज्ञान केन्द्रको कमजोरी रहेको प्रष्ट हुन्छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइ अत्तरिया कैलालीका प्रमुख बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले कर्मचारी अभावका कारण कृषकको बारीमै गएर नमुना संकलन गर्न नसकेको बताए।
ल्याएकै दिन परीक्षण गर्न पाएकाे भए नतिजा फरक आउन सक्ने उनी बताउँछन्।
‘फ्रिजमा राख्दा पनि केही किटाणु मरिहाल्छन्, बजारको संकल गर्दा बासी पनि हुन्छ,’ उनले भने, ‘औषधीले कति समय काम गर्यो भन्ने कुरा पनि हुन्छ।’
किटनाशक विषादी ५ वटा हुने गरेको तर अत्तरिया प्रयोगशालामा कार्बामेट र अर्गानोफस्फेट मात्रै परीक्षण हुने गरेको उनको भनाइ छ।
उनी भन्छन्, ‘हामीले बजारको तरकारी परीक्षण गरेका छौं। अब कृषकको खेतकै गर्नुपर्ने भए ज्ञान केन्द्रले पत्र पठाउनुपर्छ अनि प्राविधिक पनि खटाउनुपर्छ।’
पत्रकार सम्मेलनमा बोल्दै निमित्त कार्यालय प्रमुख पनेरुले डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको तरकारीमा विषादी नभेटिएकोले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेका छन्।
तर, विगतको नतिजा हेर्दा भने ढुक्कसँग तरकारी खाने अवस्था नरहेको पाइएको छ। गत असोजमा कैलालीको अत्तरियामा रहेको तरकारी हाटबजारमा डडेल्धुराबाट गएको फूलगोभीमा अत्यधिक विषादी भेटिएको थियो।
उक्त फूलगोभीको नमुनामा कार्बामेट र अर्गानोफस्फेटजनक विषादी भेटिएको थियो। परीक्षणबाट उक्त फूलगोभी खान अयोग्य भनेर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइ अत्तरियाले ठहर्याएको थियो।