डडेल्धुराः डडेल्धुरामा मजदुर ठगिएका छन्।
जिल्लाको आलिताल गाउँपालिका–७ का २० जनाभन्दा बढी मजदुर ठगिएका हुन्।
आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजना कार्यान्वयनको दौरानमा डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दिर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित अमर धामीले बताए।
उनका अनुसार यी निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएका थिए। तर, गत वैशाखमा काम गरेको भएपनि ज्याला नपाएको पीडितको भनाइ छ।
‘गत वर्ष बैशाखदेखि काम गरेका हौं। काम गर्ने २०/२२ जना हौं। पेटी ठेकेदार मार्फत हामीले काम गरेका हौं,’ उनले भने।
पीडित १० जना मजदुरले ज्याला ठगी गरेको र आफूहरूले ज्याला नपाएको भन्दै आलिताल प्रहरी चौकीमा माघ ५ गते उजुरी दिएका छन्।
मजदुरले दिएको निवेदनमा वडा नम्बर ७ मा निर्माण गरिएको मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी समेत लिई सक्दा पनि ठेकेदारले आफूहरुको मजदुरीको ज्याला भने नदिएको बताइएको छ।
यस विषयमा बुझ्न खोज्दा पेटी ठेकेदार बोहराले फोन उठाएनन्। तर, पीडित धामीका अनुसार प्रहरीमा उजुरी पश्चात् बोहरा सम्पर्कमा आएको र एक महिनाभित्र ज्याला दिने सहमति भएको छ।
पालिकाले भन्यो– ज्याला भुक्तानी नगरे कारबाही गछौं
आलिताल गाएापालिकाले श्रमिकहरूको ज्याला भुक्तानी नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
हिजो (सोमबार) गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स डोटी र भूमिराज निर्माण सेवा डडेल्धुरालाई पत्र लेख्दै यथाशीघ्र श्रमिकहरूको ज्याला भुक्तानी गर्न भनेका छन्।
आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजना कार्यान्वयनको दौरानमा डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दिर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको व्यापक जनगुनासोसहित प्रहरी चौकीमा समेत उजुरी परेकोले गाउँपालिकाको ध्यानाकर्षण भएको अध्यक्ष पार्कीले बताए।
उनकाअनुसार पालिकाले निर्माण कम्पनीलाई यथाशीघ्र श्रमिकहरूको ज्याला भुक्तानीका लागि समन्वय गर्न आग्रह गरिएको छ। यदि ज्याला भुक्तानी नगरे निर्माण कम्पनीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने अध्यक्ष पार्कीको भनाइ छ।