दार्चुला : दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ।
भारतसित सीमा जोडिएको दुम्लिङमा एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेको हो।
दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए।
बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ। जगदम्बा निर्माण सेवा प्रा।वि।ले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ।
चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए।
अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई सीमा क्षेत्रमा निगरानी गरिरहेको उनको भनाइ छ।
भवन शिलान्यासका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले मातहतका सुरक्षाकर्मीहरूलाई इमान्दार, अनुशासित, बफादार र कर्तव्यनिष्ठ भई सरकारबाट प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई उच्च मनोबलका साथ वहन गर्न निर्देशन दिएका थिए।
यसअघि जिल्लाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन्।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई अझै विस्तार गर्दै लैजाने नेपाल सरकारको लक्ष्यअनुसार बीओपीहरूको स्थापना तीव्र गतिमा भइरहेको उनको भनाइ थियो।
२०७७ असारको तेस्रो साता ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्रको बीओपी बस्दै आएको छ।
स्थानीयको निजी घर भाडामा लिई बस्दै आएको भए पनि बीओपीको ब्यारेक भवनलगायतका संरचना निर्माण हुन थालेपछि सशस्त्र प्रहरी कर्मचारीलाई काम गर्न सजिलो हुने विश्वास लिइएको छ।
दार्चुलामा सशस्त्र प्रहरीको सदरमुकाममा गण, ब्यासको छाङरु गुल्म तथा तिंकर, दुम्लिङ, सुन्सेरा, जौलजिवी र लालीमा बीओपी रहेका छन्।
गण र तिंकर बीओपीबाहेक अन्य ठाउँमा ब्यारेक भवन र अन्य संरचना निर्माणाधीन तथा बन्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।