काठमाडौं : तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुवा गम्भीर घाइते भएका थिए।
घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए।
एसपी सिलवालका अनुसार उनी जाहेरीकर्ताको बुवा थिए। प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। उजुरी कर्ताको वुवाको हत्या भएका कारण उनको हत्या भएको आशंका गरिएको छ।
एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो। जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन्।