धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयर पदम बोगटीले मनलाग्दी गरेका छन्।
मेयर बोगटीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बहुमत वडा सदस्यहरुको निर्णय समेत लत्याएका हुन्।
भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र बहुमत वडा सदस्यहरुको निर्णयले ज्येष्ठ सदस्य शारदा विकलाई कार्यवाहक वडाध्यक्ष बनाउने निर्णय गरेका थिए।
तर, मेयर बोगटीले सो निर्णयको अवज्ञा गर्दै वडा नम्बर ६ मा कार्यवाहक वडाध्यक्ष तोकिदिएका छन्।
उनले नगरप्रमुख स्तरीय बैठकबाट निर्णय गराउँदै तोकआदेशका भरमा वडा सदस्य देवकी जोशीलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका हुन्।
मेयरको तोकआदेशको भरमा कार्यवाहकको जिम्मेवारी पाएकी जोशीले त्यसमा असहमती जनाएकी थिइन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ मा वडा अध्यक्षको पद रिक्त भएमा वडा समितिका सदस्यहरुले आफूहरु मध्येबाट छनौट भएका सदस्यले कार्य वाहक भएर कामकाज गर्न सक्ने व्यवस्था गरेको छ।
उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्।