डडेल्धुराः तीनपटक प्रतिनिधि सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित नेता हुन्, खगराज भट्ट।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका भट्ट यसपटकको संसदीय निर्वाचनमा भने डडेल्धुरा प्रदेश सभा ‘क’बाट चुनाव लडे।
बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई नेकपा एमालेका पठानसिंह बोहराले चुनौती दिएका थिए।
तर, काँग्रेसको साथ पाएका भट्ट बोहरालाई हराउँदै प्रदेश सभा सदस्य बने।
कुनै समय एक अर्कोका चर्को आलोचक र प्रतिस्पर्धी रहेका देउवा र भट्ट निर्वाचनको समयमा भने एउटै कार्यक्रममा एक अर्काको प्रशंसा गर्नमा व्यस्त देखिन्थे।
भट्टको तारिफ सुनेर देउवा पनि मख्ख थिए। डडेल्धुरा सदरमुकाम बसपार्कमा सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभामा देउवालाई नेपाली काँग्रेसको सभापति मात्रै भन्यो भने देउवाको अवमूल्यन हुने भन्दै उनले देउवा नेपाली जनताको नायक भएको प्रतिक्रिया समेत दिन भ्याए।
राजनीतिका चतुर खेलाडी देउवाले पनि त्यसको केही दिनपछि संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले जोगबुढामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हुने ठोकुवा गरे।
सम्बोधनका क्रममा देउवाले भनेका थिए, ‘अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो, अबको उनी नै हुन्। तपाईँहरू जिताएर पठाउनुहोस्।’
त्यसपछि भट्ट बने दलको नेता
डडेल्धुरा प्रदेश ‘क’ बाट निर्वाचित भट्टलाई १७ पुस २०७९ मा बसेको सुदूरपश्चिम माओवादी केन्द्रको संसदीय दलको बैठकले दलकोे नेतामा सर्वसम्मत निर्वाचित गरेको थियो।
खगराज तत्कालीन समयमा माओवादी संसदीय दलको नेता बन्दा पनि विरोध भएको थियो। त्यसबेला उनको विरुद्धमा प्रदेश सभा सदस्य ओमविक्रम भाट, अक्कल रावल र मानबहादुर धामीले दाबी गरेका थिए।
तर, त्यसबेला रावल र धामीले भट्टलाई समर्थन गरेपछि नेता चयन गर्न सहमति जुटेको थियो। सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सदस्य छन्।
त्यो बेला मुख्यमन्त्री बन्न चाहेका भट्ट बन्नै पाएनन्। तर पनि डडेल्धुराबाट निर्वाचित भएसँगै दलको नेता समेत बनेका भट्टको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। देउवाको आश्वासनले पनि उनी मुख्यमन्त्री बन्ने आकलन गरिएको थियो।
तर, निर्वाचन पश्चात केन्द्रीय सरकार बनाउँदा बाम लोकतान्त्रिक गठबन्धन टुट्यो। र, फलस्वरुप सुदूरपश्चिम एमालेको भागमा पर्यो।
त्यति बेला खगराजको मुख्यमन्त्री बन्ने सपना पूरा हुन सकेन्। नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। तर, आलोपालो सहमतिका कारण रावलपछिको मुख्यमन्त्रीको रूपमा भट्टलाई नै हेरिएको थियो।
केन्द्रमा गठबन्धन फेरिएसँगै राजनीतिक घटनाक्रमले सुदूरपश्चिममा माओवादी–काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेपछि काँग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए।
तर, पनि माओवादी र काँग्रेसको सहमती अनुसार आधाआधा कार्यकाल सरकार चलाउने भनेपछि भट्टलाई मुख्यमन्त्री हुने अपेक्षा जिवितै थियो। तर अब भने उनको त्यो सपना तुहिएको छ। आज (शुक्रबार) उनलाई माओवादीको दलको नेताबाटै हटाइएको छ।
प्रचण्डसँगको त्यो भेट
केही दिनअघि मात्रै सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका थिए।
टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल, शिवसिंह ओली र लक्ष्मी विकसहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउन प्रचण्डलाई आग्रह गरेका थिए।
राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्री झपट साउदलाई फिर्ता बोलाउनु पर्ने उनीहरूको माग थियो।
बहुमत प्रदेश सभा सदस्यहरूको गुनासो सुनिसकेपछि प्रचण्डले राष्ट्रिय सभा निर्वाचन लगत्तैसरकार हेरफेरको सङ्केत गरेका थिए।
र, खगराजको ‘च्याप्टर क्लोज’
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेता परिवर्तन भएसँगै खगराजको मुख्यमन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएको हो।
आज (शुक्रवार) बसेको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता परिवर्तन गरेको हो। यसअघि दलको नेता रहेका खगराजलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको छ।
खगराजलाई हटाएर मानबहादुरलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यहरूले निर्णय गरेका छन्। ११ जना प्रदेशसभा सदस्य रहको सुदूरपश्चिममा एकजना सभामुख छन्।
मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीता देवीमाल लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्। आजको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकी देवी कुवर भने उपस्थित भएनन्।
धामी यसअघि प्रमुख सचेतक थिए। दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य उनी सुदूरपश्चिमको पूर्व वनमन्त्री समेत हुन्।
गुट फेरेर नारायणकाजी टिममा गएपछि खगराजलाई निकालिएको बताइन्छ। खगराजले अब पार्टीमा सो विषय समिक्षा गरिने बताएका छन्।
यो सँगै सुदूरपश्चिममा सरकार तथा मन्त्रीमण्डल फेरबदल हुने पनि चर्चा थालिएको छ। अब सुदूरपश्चिम सरकारका मन्त्रीहरु पनि परिवर्तन हुने र मुख्यमन्त्रीसमेत अप्ठ्यारोमा पर्ने भएका छन्।